'आर्थिक समृद्धिका लागि अघि बढ्नु पर्छ’

पोखरा-उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक समृद्धिका लागि अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार लेखनाथ नगरपालिकाको वडा नं ११ पचभैयामा नवनिर्मित दुईतले महिला सशक्तीकरण भवनको उद्घाटन गर्दै महराले धेरै लामो समयसम्म प्रजातन्त्र र अधिकारका लागि लडाइँ लडेको र अब आर्थिक समृद्धिका लागि अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । । सो अवसरमा बोल्दै उपप्रधान एवम् अर्थमन्त्री महराले स्थानीय सीप, स्रोत र साधनबाट बनेका संरचना दिगो र टिकाउ हुने विश्वास व्यक्त गरे । वैदेशिक सहयोगबाट बनेका संरचना केही समयका लागि राम्रा देखिए पनि पछि तिनीहरुको संरक्षणको अभावमा जीर्ण बन्दै जाने विचार व्यक्त गर्दै उनले स्थानीय क्षेत्रको विकासमा स्रोत र साधन जुटाएर संरचना बनाउन सबैसँग आग्रह गरे । उनले प्राकृतिक स्रोत र साधनको प्रचुर सम्भावना भएको यस क्षेत्रको विकासलाई अघि बढाउन स्थानीय जनता पनि जागरुक हुनु पर्ने बताए । सामाजिक, शैक्षिक तथा वातारणीय विकास प्रतिष्ठान ९सीप फाउन्डेसन० कास्की र स्थानीय जनसहयोग परिचालन गरी करिब रु एक करोड ५० लाखको लागतमा सो भवन निर्माण गरिएको हो । संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, काँग्रेसका राजेन्द्रमणि लामिछाने, एमालेका मोहन गुरुङ, माओवादी केन्द्रका शिवजी लामिछाने, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीलगायतका वक्ताले बोलेका थिए । -source

0 comments

प्रतिकृया दिनुहोस