मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई कृषि विकास बैंकको १५ लाख
भुइँचालोपछि सिन्धुपाल्चोक र काभ्रेमा दुइवटा एकिकृत नमुना बस्ती बनाएपछि विपन्न मुसहर समुदायका लागि तेस्रो बस्ती बनाउन महोत्तरी झरेका धुर्मुस–सुन्तलीलाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग गरेको छ। स्थापनाको ५० औं वर्ष मनाएको अवसरमा आयोजित कार्यक्रममार्फत् बैंकले उक्त रकमबराबरको सहयोग हस्तान्तरण गरेको हो।
यसअघि एक व्यक्तिमार्फत् ४० लाख रुपैयाँ पाइसकेका धुर्मुस–सुन्तलीलाई संस्थागततर्फबाट ठूलो रकम मिलेको हो।
सहयोग लिएपछि कार्यक्रममा धुर्मुसले आफू पहिलोचोटी काठमाडौं आउँदा बाबुले दिएको १७ सय रुपैयाँको प्रसंग सम्झिएका थिए। ‘मैले पैसा माग्दा बासँग धेरै पैसा थिएन,’ उनले स्मरण गरे, ‘अनि, मैले कृषि विकास बैंकबाट ऋण लिनु न भनेको थिएँ। उहाँले थोरै पैसाका लागि के बैंक धाइराख्नु भनेर छिमेकीसँग सापटी मागेर १७ सय रुपैयाँ दिनुभयो। त्यतिबेला त्यति पैसा मेरा लागि निकै ठूलो थियो। तर, मेरो संघर्षका लागि भने पर्याप्त थिएन। काठमाडौं आएपछि मैले दुःख भोगेँ। त्यसैले, मैले मेरो संघर्ष सम्झँदा त्यो १७ सय सम्झिराख्छु। आज वर्षौंपछि कृषि विकास बैंकको ठूलो सहयोगले त्यो घटना स्मरण गराइदियो।’


0 comments
प्रतिकृया दिनुहोस