साधारणसभा उद्‍घाटन गर्न परराष्ट्रमन्त्री श्रीमतीसहित अमेरिकामा

पुस २९, २०७३- परराष्ट्रमन्त्री प्रकाशशरण महत बिहीबार साँझ अमेरिकाको टेक्सास आइपुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको पाँचौं वार्षिक साधारणसभाका लागि मन्त्री महत श्रीमतीसहित टेक्सास आइपुगेका हुन् । टेक्सासको डालास शहरमा एनआरएनए, अमेरिकाको एक दिने पाँचौं साधारणसभा शनिबार हुँदैछ । एनआरएनए, अमेरिकाका एक पदाधिकारीका अनुसार साधारणसभाको उद्‍घाटनका लागि मात्रै, मन्त्री महतलाई आमन्त्रित गरिएको हो । ती पदाघिकारीले स्पष्ट पार्दै कान्तिपुरसँग भने ‘अमेरिकाबाट निम्तो पठाएपछि, नेता, मन्त्री नआउने कुरै छैन्, फ्रोटोकलको चिन्ता कसलाई पो छ र ।’ शनिबारको साधारणसभाका अतिरिक्त मन्त्री महतको अन्य कुनै औपचारिक कार्यक्रम रहेको छैन । बिहीबार डालासस्थित फोर्टवर्थ विमानस्थल उत्रेका मन्त्री दम्पतीलाई एनआरएनए, अमेरिकाका पदाधिकारी लगायत कांग्रेस पार्टी सर्मथक प्रवासी कार्यकर्ताहरुले स्वागत गरेका थिए । मन्त्री महत तीनदिन अमेरिका बस्ने कार्यक्रम छ । साधारणसभाको उद्‍घाटनकै दिन शनिबार साँझ महत नेपाल फर्किनेछन् । साधारणसभा, एनआरएन अमेरिकाको वार्षिक कार्यक्रमअन्तर्गत हरेक वर्ष आयोजना हुनेगर्छ । सामान्यतया साधारणसभा, वार्षिक भेटघाटको कार्यक्रमको रुपमा परिचित भए पनि यसपटकको साधारणसभा, आगामी निर्वाचनमै सेरोफेरामा केन्द्रित हुने अपेक्षा गरिएको छ । शनिबारको साधारणसभामा अमेरिकामा रहेका १७ वटा एनआरएनए च्याप्टरका प्रतिनिधिहरुको सहभागिता रहनेछ । -source

0 comments

प्रतिकृया दिनुहोस