अखिलेशलाई साइकल चिह्न

नयाँदिल्लीः भारतीय राज्य उत्तर प्रदेश विधानसभाको चुनावपूर्व समाजवादी पार्टीमा भइरहेको विवादमा त्यहाँको निर्वाचन आयोगले सोमबार मुख्यमन्त्री अखिलेश यादवको पक्षमा फैसला गरेको छ । निर्वाचन आयोगले समाजवादी पार्टीको साइकल चुनाव चिह्न पनि मुख्यमन्त्री अखिलेशलाई नै प्रदान गरेको छ । निर्वाचन आयोगले पार्टीको नाम पनि अखिलेश यादवले नै पाउने निर्णय गरेको छ । यसअघि नै निर्वाचन आयोगले सोमबार यस विषयमा फैसला दिने अनुमान गरिएको थियो । पार्टीका सुप्रिमो मुलायमसिंह यादवले भने निर्वाचन आयोगले आफ्नो पक्षमा फैसला नगरे अदालत जाने चेतावनी दिँदै आएका छन् । सोमबार दिउँसो नै समाजवादी पार्टीको कार्यालयमा मुलायमसिंह यादवको नामको मुन्तिर अखिलेश यादव, राष्ट्रिय अध्यक्ष लेखेको नेमप्लेट लगाइएको थियो । निर्वाचन आयोगको यो फैसलाबाट साइकल चुनाव चिह्नका साथ अखिलेश यादवले विधानसभा चुनावमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी सोमबार समाजवादी पार्टी (सपा) का संस्थापक मुलायम सिंह यादवले मुख्यमन्त्री एवं उनका पुत्र अखिलेशले मुस्लिमप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको बताएका छन् । यस्ता विषयमा अखिलेशले ध्यान नदिए उनकै विरुद्ध आफू निर्वाचनमा उत्रने स्पष्ट पारेका छन् । पार्टी कार्यकर्ताअलाई सम्बोधन गर्दै मुलायमसिंहले पुत्र अखिलेशमाथि आक्रमण गरिरहे । उनले भने, ‘मैले सधैं मुस्लिमको हितको कुरा गर्छु । मैले मुस्लिमलाई पार्टीमा उत्तर प्रदेशको महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेपछि अखिलेश मसँग १५ दिनसम्म बोलेन । उसले मुपस्लमलाई यस्ता पद दिन चाहँदैन । यसबाट मुस्लिमविरोधी सन्देश जान्छ ।’ मुलायमसिंहले रामगोपाल यादवका कारण अखिलेशले यस्तो गर्ने गरेको दाबी पनि गरे । रामगोपालले भारतीय जनता पार्टीको इसारामा काम गर्ने गरेको पनि उनले आरोप लगाए । -source

0 comments

प्रतिकृया दिनुहोस