हिमालयले अझै पाएन भारत उड्ने अनुमति

माघ ५, २०७३- हिमालय एयरलाइन्सको दोस्रो जेट विमान (एयरबस) यसै महिनाभित्र आउने पक्कापक्की भइसक्दा पनि भारतले दिल्लीका लागि व्यावसायिक उडानको अनुमति दिएको छैन । भारतले ‘डिप्लोम्याटिक क्लियरेन्स’ लाई कारण देखाउँदै एयरलाइन्सलाई उक्त अनुमति नदिएको हो ।

गत फागुनमा पहिलो एयरबस ए–३२० ल्याएको हिमालयले यसै महिनाको १८ मा दोस्रो एयरबस ए–३२० जर्मनबाट काठमाडौं ल्याउँदै छ । ‘जहाज ल्याउनुअघि नै काठमाडौंबाट दैनिक नयाँदिल्ली उडानका लागि अनुमति प्रक्रिया थालेका थियौं,’ हिमालयका एक वरिष्ठ अधिकारीले भने, ‘दिल्ली विमानस्थलले उडान स्लट पनि उपलब्ध गराइसक्यो तर कूटनीतिक कारण देखाउँदै अझै झुलाइरहेकै छ ।’ ती अधिकारीका अनुसार काठमाडौंमा रहेको दूतावासले ‘क्लियरेन्स’ नदिएकै कारण दिल्लीका लागि व्यावसायिक उडान गर्न पाएको छैन । हिमालयले गत चैत १७ मा काठमाडौं–दिल्ली–काठमाडौं प्रुभिङ उडान गरिसकेको छ ।
व्यावसायिक उडान गर्नुअघि विमान कम्पनीले नियमनकारी निकायलाई जहाजमा राखेर व्यवस्थापकीय पक्ष देखाउन पु्रभिङ उडान गर्नुपर्छ । यो उडानपछि व्यावसायिक उडान सुरु हुन्छ । तर, ११ महिना बितिसक्दा समेत हिमालयले भारत प्रवेश गर्ने अनुमति पाउन सकेको छैन ।

हाल भारतका तीनवटा एयरलाइन्स र नेपाल वायुसेवा निगम गरी चारवटा एयरलाइन्सले दैनिक काठमाडौं–दिल्ली उडान भर्दै आएका छन् । नेपाल र भारत सरकारबीच सातामा ३० हजार सिट यात्रु उडान सम्झौता छ । हिमालयले मंगलबार विज्ञप्ति जारी गर्दै थपिन लागेको विमानपछि काठमाडौंबाट मलेसियाको क्वाललमपुर र म्यान्मारको याङगुनमा सेवा सञ्चालन गर्ने जनाएको छ । यी दुई रुटका लागि यस एयरलाइन्सले अनुमति पाइसकेको जनाएको छ । यसले मलेसिया सातामा ५ दिन र म्यान्मारमा दुई दिन उडान गर्ने भएको छ । लेभर रुट भनिने मलेसिया र काठमाडौंमा अब हिमालयसहित ५ वटा एयरलाइन्स पुगेका छन् । यो रुटमा नेपाल एयरलाइन्सले पनि सातामा २८ वटासम्म उडान भर्ने अनुमति पाएको छ । नेपाल र मलेसियाबीच पनि यो रुटका लागि सातामा ३० हजार यात्रु सिट सम्झौता छ । यसैबीच, हिमालयले ०४६ अघि ध्वजावाहक नेपाल एयरलाइन्सले उडान भर्दै आएको म्यान्मारको याङगुनमा उडान भर्ने भएको छ ।

‘यो मुलुकमा २ लाख नेपाली रहेकाले उडान सुरु गर्न लागेका हौं,’ हिमालयका महाप्रबन्धक राजुबहादुर केसीले भने, ‘नेपालमा पनि ठूलो संख्यामा बर्मेली समुदाय रहेको र लुम्बिनी भम्रण गर्नेहरू पनि भएकाले यो मुलुक रोजेका हौं ।’

नेपाली र चिनियाँ व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालित हिमालयले ल्याउन लागेको दोस्रो विमान पनि ड्राइ लिजमै ल्याइन लागिएको हो । यसअघिको १ सय ५८ सिट क्षमताकै पहिलो विमान पनि यसले १२ वर्षका लागि लिजमा ल्याएको थियो । यसले २०१७ भित्रै थप दुइटा एयरबस ल्याउँदै यो वर्ष कुल विमान संख्या चार पुर्‍याउने भनेको छ ।

हाल यसले एउटा मात्रै एयरबसबाट कतारको राजधानी दोहो र श्रीलंकको राजधानी कोलम्बोमा उडान भर्दै आएको छ । ०५४ मा नेपालमा दर्ता भएको यस एयरलाइन्समा यती एयरलाइन्सको ५१ दशमलव ०१ प्रतिशत सेयर रहेको छ भने बाँकी ४८ दशमलव ९९ तिब्बत एयरलाइन्सको रहेको छ ।
-सुरज कुँवर


0 comments

प्रतिकृया दिनुहोस